कता हिँडेको डलर बोकेर? ट्रक हुईक्याएर !

कलाकार दुर्गेश थापाको “कता हिँडेको बिजुली बालेर….. धुलो उडाउदै अनि गाडी गुडाउदै” गीत अहिले ट्रेन्डिङमा छ। युवाहरूको मुखमा, टिकटकमा, रिल्स भिडियोमा, मेला-महोत्सवमा जताततै गुन्जिरहेको छ। तर यो अहिले धुलो उडाउने गाडीको होइन, डलर र युरो बोकेर गुड्ने ट्रक बारेको चिन्तन हो ।

देशको वास्तविकताले अर्कै खालको ट्रेन्ड लिएको छ।

गत हप्ता एउटा ट्रक काठमाडौंको टोखा हुँदै सामान्य सडक भएर चिनियाँ नाकातिर लम्किरहेको थियो। त्यो ट्रकमा चालक एक्लै थिएनन् रु २५ करोड बराबरको डलर र युरो पनि थियो।

राजधानीबाट हुइँकिएको ट्रकलाई न त कुनै एक्सरेले रोकेको थियो, न त कुनै गेटले नै थुनेको। सूचना पाएपछि मात्रै ट्रक समातियो। अनि प्रहरी आयो, पत्रकार सम्मेलन गर्‍यो। क्यामेरा र माइक अघि बसेर सररर् फिजाउँदै डलर देखायो, युरो देखायो। अन्त्यमा प्रहरीको सधैंझैं एउटै भनाइ – “अनुसन्धान जारी छ।”

यो वाक्य नेपाली जनतालाई अब त कण्ठै भइसकेको छ।

पैसा देखायो – ‘अनुसन्धान जारी छ।’

सुन समात्यो – ‘अनुसन्धान जारी छ।’

अर्बौं घोटाला आयो – ‘अनुसन्धान जारी छ।’

फाइल हरायो – ‘अनुसन्धान जारी छ।’

फाइल भेटियो – ‘फेरि अनुसन्धान जारी रहनेछ।’

यो सिस्टम हो कि सर्कस?

त्यो ट्रकको पछाडि लेखिएको थियो –
“गुड्नु छ रोडमा, कमाउनु छ नोटमा, जिन्दगीको भारी बोक्नु छ चोटै चोटमा।”
त्यो लाइनले आजको नेपालीलाई उजागर गर्छ।

हामी महिनौँपिच्छे अनेक विषयमा कर तिर्छौं, पसिना बगाउँछौं, कर पनि तिनै तहलाई छुट्टाछुट्टै तिर्छौं, तर राज्यबाट पाउने भनेको राजस्व तिरेर झमेला भिरेर एक थान पासपोर्ट मात्रै हो।
बाँकी त त्यो ट्रकको शायरीझैं — चोटै चोट।

खास कुरा के छ भने, उक्त ट्रकको चालक पहिल्यै सुनकाण्डमा मुछिएको व्यक्ति रहेछ।
फेरि त्यही व्यक्ति २५ करोड बराबरको विदेशी मुद्रा लिएर राजधानीमा खुलेआम गुडिरहेको थियो। अनि समातिएपछि बल्ल भनियो –

“ओहो! यो त पुरानै अपराधी!” पुरानै संलग्न, पुरानै कनेक्सन। फेरि अनुसन्धान।
तर आशा गरौँ सबै पुरानो हैन अनुसन्धान नयाँ होस्

राजनीतिक प्रणाली पनि यस्तै हो।
चुनाव आयो – पुरानै अनुहार उम्मेदवार।
फेरि जित्यो।
जनताले भोट हाल्यो – ‘समृद्ध नेपाल।’
५ वर्ष बिर्सियो।
फेरि ढोकामा आयो – “होइन, फेरि त हो नि!”

संसदमा कुरा उठ्छ –
सत्तापक्ष भन्छ – “हामी गम्भीर छौं।”
विपक्ष भन्छ – “यो राष्ट्रघात हो।”

त्यसपछि न रिपोर्ट आउँछ, न कारबाही।
न सत्तापक्ष जिम्मेवार , न विपक्ष चिन्तित। यो ट्रकले केवल पैसा मात्रै हैन, प्रणालीको लाचारपन, कमजोरी र मौनता पनि बोकेको थियो।

अनि हामी जनता अनि मिडियाको भूमिका चाहि
हामीले गर्नुपर्ने खबरदारी मात्रै हो कि केही अरू?

पहिलो दिन – समाचार हेर्यौं, हास्यौं, ट्रोल हेर्यौं, शेयर गर्यौं।
तर अब बिस्तारै बिर्सन थालेका छौं।
सत्यतथ्य बाहिर नआए अब बिस्तारै २५ करोड पैसा , ट्रकको अलि अलि सायरी बाहेक । अरु केही सम्झना हुदैन ।

पैसा भेटिएको १/२ दिन पछि फोनमा घरमा कुरा गर्दा बुबाले सोध्नुभयो
“साँच्चि, त्यो ट्रकको पैसाको मालिक भेटियो त? मैले बुबासंग ठट्यौली पारामा भने “मैले त त्यो पैसा राति सपनामा देख्या थिए! तपाईंले पनि देख्नुभयो कि क्या हो !”

१–२ दिन सञ्जालमा रमाइलो भयो –
कसैले लेखे – “अब त ट्रक नै चलाउँछु।”
कसैले भिडियो बनायो – “त्यो पैसा सबै नेपालीलाई बाँडौं।”

तर राज्यले बिर्सनु हुन्न।
प्रहरी प्रशासनले बिर्सनु हुन्न।
किनभने यस्ता घटना नियमित छन्
“सुन काण्डदेखि अहिलेको सहकारी काण्ड सम्म”

ओली बोले – प्रचण्ड बोले – देउवा बोले।
तर कुनै पनि बोलाइमा जिम्मेवारी देखिएन । जनताले पत्याउन छाडिसके ! किनकि “बोल्नेले गर्दैन , गर्नेले बोल्दैन” स्थापित भाष्य जो छ ।

अब त यस्तो भइसक्यो –
ट्रकमा पैसा आउँछ, तर एम्बुलेन्समा बिरामी लैजाने पैसा छैन।
देशमा किलो–किलो सुन सहजै छिर्छ ,तर कर्णालीका जनता नुनको लाइनमा बस्न बाध्य छन्।
प्रहरी ट्रक भरि डलर देखाउँछ, भन्सार बाट सुनको बिस्कुट छिरेको देखाउछ । जनताले भने १० को बिस्कुटमा १३% VAT तिर्छन ।
नेपाल FATF को ग्रे लिस्टमा परेको छ ।
सरकार भन्छ – “हामी सुधार गर्दैछौं। सुधार भनेको गर्ने कुरो हो, बोल्ने होइन।

हामी बिदेशमा बसेका नेपालीहरूले जब यस्तो समाचार पढ्छौं –
पहिला हाँसो आउँछ, अनि चुप लाग्छौं
किनकि भोलि नेपाल फर्किँदा त्यही सिस्टम , उहीँ अस्तव्यस्त उहीँ नेता देख्छौं र मौनता फिर्ता भेटिन्छ।

देशको अर्थतन्त्र रेमिट्यान्समा अडिएको छ
तर ट्रकमा रकम ल्याउने सिस्टम माफियामा अडिएको देखिन्छ।

प्रश्न उठ्छ

किन ट्रक समातिन्छ, तर मालिक छुट्छ?

किन प्रहरी डलर देखाउँछ, तर स्रोत लुकाउँछ?

किन संसद मौन बस्छ?

किन प्रधानमन्त्रीले ‘गम्भीर छौं’ भन्नेसम्म मात्र गर्छन्?

यदि आज २५ करोडको ट्रक छोडियो भने, भोलि ५० करोडको आउँछ। त्यसपछि १०० करोडको।
र हामी फेरि समाचार पढ्नेछौं – “अनुसन्धान जारी छ।”

अब प्रश्न ट्रकलाई होइन — हामी सबैलाई हो।

कति पटक हामी यस्ता घटनामा सुनिरहन पर्ने?

कति पटक हामी हाँसेर टार्ने?

कति पटक हामी “हो र?” भनेर छाड्ने?

देश केवल भूगोल होइन – विश्वास हो।
र ट्रकले त्यो विश्वासमाथि ठोक्किएको छ।

यदि अब हामी चुप लाग्यौं भने, भोलिको पुस्ताले इतिहास होइन – लाचारपन पढ्नेछ।

त्यसैले अब प्रश्न फेरि एक पटक गुञ्जिनुपर्छ
“कता हिँडेको डलर बोकेर ? ट्रक हुईक्याएर?”

अब त्यो प्रश्न ट्रक चालकलाई होइन –
प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी महानिरीक्षक, अनि स्वयं हामी जनतालाई हो।

धन्यवाद!

उरुग्वेविरुद्ध अर्जेन्टिनाको जित

सरकारले कुलमान लाई हटायो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *