कोरियामा रोजगारी तथा अध्यनका सिलसिलामा रहेका नेपाली युवायुवतीहरूका लागि टिकटक केवल मनोरञ्जनको माध्यम मात्र होइन, आत्मअभिव्यक्ति र सांस्कृतिक पहिचानको एक महत्वपूर्ण साधन पनि बनेको छ। केहिले यसैबाट कमाई पनि गर्ने गरेका छन । तर पछिल्लो समय कोरियन मेट्रो ट्रेनभित्र बनाइएका टिकटक भिडियोहरू भाइरल भएसँगै, नेपालीहरू तीव्र आलोचनाको शिकार हुन थालेका छन्।
यी भिडियोहरू केही समयअघिका भए तापनि, बेलाबेला सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको हुन्छ। यात्रुहरूले भरिएको कोरियन मेट्रोमा नाच्दै बनाइएका भिडियोहरूमा “ट्रेनभित्र शान्त बस्नुपर्छ”, “अरूको फोटो, भिडियो बिना अनुमती खिच्न हुन्न”, “सार्वजनिक मर्यादा पालना गरिनुपर्छ” भन्ने सामान्य कुरामा पनि ख्याल नराखेको भन्दै आलोचना खेप्दै आएका छन ।
“ट्रेन लाई बिबाहको रत्यौली जस्तो गरे त !”, “ट्रेन यात्राका लागि हो कि नाच्न?”, “कस्तो लाज लाग्दो व्यवहार हो यो?” नेपाली पारा देखाएरै छाड्यौ हैन ! — यस्ता टिप्पणीहरू सामाजिक सञ्जालमा सहजै भेटिन्छन्।
तर विषयको अर्को पाटो पनि छ। छायाखबरसँग कुरा गर्दै एकजना टिकटक बनाउने युवकले भने :
“त्यो बेला ट्रेनमा मान्छे धेरै थिएनन्, साथीहरूले ‘एक क्लिप बनाउन त ‘ भनेपछि अलिक रमाइलो गर्न बनाएको थिएँ। तर बेलुका भिडियो अपलोड गरेपछि असाध्यै गालीको वर्षा भयो। मलाई लाग्यो, मैले ठुलै अपराध त गरिनँ नि! गल्ती भयो होला , मान्छेले असहज महसुस गरे होलान्, तर मलाई त क्राइम गरेजस्तै व्यवहार गरियो।”
यसैमा अरूले भनेको पाइन्छ:
“ट्रेन, बस जस्ता सार्वजनिक स्थलमा टिकटक बनाउने विषय कोरियाली यात्रुहरूका लागि झर्को बन्न सक्छ । यसो त कोरियनहरु शान्त वातावरणमा यात्रा गर्न रुचाउँछन् । उनीहरु आफुलेपनि अरुलाई डिस्टब नहोस भन्ने चाहान्छन । सार्वजनिक स्थलमा भिडियो बनाउँदा अनुमति, मर्यादा र नियमको ख्याल गर्नुपर्छ भन्ने चेतावनीसहित धेरैले यसप्रकारको गतिविधिमा नगर्न सुझाएका छन।
केहीले भने समर्थन पनि जनाएका छन्:
“सार्वजनिक स्थान हो भनेर डराएर बाँधिएर बस्ने हो भने कला, अभिव्यक्ति, रमाइलो सबै दबिन्छ। गरिमा कायम राखेर बनाएको टिकटकमा आपत्ति गर्नु व्यर्थ हो। बरु भिडियोमा देखिएका फोटो भिडियो ब्लोर् गरेर अरुलाई असहज नहुने गरि बनाउने कुरामा ख्याल गर्नपर्छ ।